झापा । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिस सुमनले चुनाव नजिकिएकाले मधेस प्रदेशका मुख्यमन्त्री नफेरिने बताएका छन् ।
बिहिबार जसपा प्रवक्ता सुमनले आफ्नो पार्टीका नेता एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिएर अर्को सरकार बन्न तत्काल अफ्ठ्यारो देखिएकाले पछि हटेको बताएका छन् ।
‘अब चुनाव लागिसकेको छ । अर्को सरकारले पूर्णता पाउन समय लाग्छ । त्यसैले अहिले मुख्यमन्त्रीले राजीनामा दिने विषय सकिएजस्तै भयो,’ उनले भने, ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको हो । बाँकी उहाँको कुरा थियो । समय पनि कम भएकाले मुख्यमन्त्री नफेरिने निश्चित जस्तै भएको छ ।’
यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन आफूले निर्देशन दिइसकेको बताएका थिए ।
राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए । तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ ।
राउतलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।







