श्रावण १८,झापा । सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गरेका छन् । युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले व्यहोरेका हुन् ।
थापामगर साउन १९ गते बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल,काठमाडौँ आइपुग्ने प्रसाईको सचिवालयले जनाएको छ ।
रोजगारीको सिलसिलामा युएईमा दुर्घटनामा घाइते भई काेमा पुगि दुबईमा अलपत्र अवस्थामा रहेकी थापा मगरलाई नेपाल फर्काउन आर्थिक समस्या भएको जानकारी प्राप्त हुनासाथ मानवीयताको आधारको यो सहयोग गरिएको बताइएको छ ।
पीडित थापा मगरलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले जानकारी गराएका छन् । परिवार पाल्नकै लागि विदेश गएर घाइते तथा अङ्गभङ्ग भई नेपाल फर्किएकी थापा मगरलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु हामी सबैको दायित्व भएको जनाउदै, उक्त पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग र सदिच्छा राखिदिनुहुन सम्पूर्ण सञ्चारकर्मीलाई प्रसाईले अनुरोध गरेका छन् ।
बि एन्ड सी हस्पिटलका जन सम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार सामुदायिक उत्तरदायित्व अन्तर्गत व्यावसायी प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा बिदेशमा पीडित नेपालीहरुको दु:खमा सहजीकरण गरेको जानकारी दिए ।
गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिम सहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल पुर्याउनेछ ।
पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्त्वपूर्ण सहयोग गर्ने मनकारी व्याक्तित्व दुर्गा प्रसाईलाई नेपाल सरकारले गर्न नसकेको काम सप्पन्न गरिदिएकोमा आभार व्यक्त गरेका छन् ।







