कला, साहित्य र लेखन विधाका छजना झापाली प्रतिभा पुरस्कृत भएका छन् । प्रदेश १ सरकारले उनीहरुको योगदानको कदर गर्दै मंगलवार विराटनगरमा आयोजित समारोहमा पुरस्कार दिएको हो ।
मुख्यमन्त्री राजेन्द्र राईले कला, साहित्य र भाषाको संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै पुरस्कृत प्रतिभाहरुलाई बधाई तथा शुभकामना दिए ।
सरकारले रंगकर्मी माधव कल्पितलाई प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान प्रदान गरेको छ । झापा नाटक घर निर्माणको अग्रसरता लिइरहेका कल्पित बहुमुखी प्रतिभाका धनी छन् ।
क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष कल्पित बहुजातिय संग्रहालयसहितको झापा नाटक घर बनाउने अभियानमा आफ्नो दैनिकी खर्चिइरहेका छन् । उनलाई सरकारले ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट साहित्यकार खगेन्द्रा खुसी सम्मानित भएकी छन् । उनलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।
भाषा, साहित्य, कला पुरस्कार तथा सम्मान प्रा.डा केआर खम्बु, लीला अनमोल, बिमला चिमरिया र भानुभक्त कुभिण्डेलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । जीव वैज्ञानिक खम्बुको ‘छायाँको लस्कर’, ‘मेरो अनुसन्धान यात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।
अनमोलका ‘दुख्छ’ गजल संग्रह, ‘बाँसुरी’ कविता संग्रह लगायतका कृति प्रकाशित छन् भने चिमरिया नाट्य तथा काब्य दुवै विधामा सक्रिय स्रष्टा हुन् ।







