१४ असार, झापा । गएरातीदेखी परेको अबिरल वर्षाका कारण झापाका अधिकांश भुभाग डुबानमा परेका छन । झापाका १५ वटै पालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै जलमग्न बनेका छन ।
मुख्य तथा सहायक नदीहरुमा आएको बाढीका कारण जिल्लाभरको जनजिवन प्रभावित बनेको छ । यता झापाको गौरादह ९ बैगुनधुरा बाढी र डुबानका कारण अति प्रभावित बनेको गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौलाले जानकारी दिएका छन । उनले बैगुनधुरामा हालसम्म ३३ परिवार विस्थापित हुने अवस्थामा रहेको बताए ।

बैगुनधुराका सबै क्षेत्र कुनै न कुनै रुपमा प्रभावित भए पनि हालसम्म कुनै मानविय क्षती भने नभएको उनले जानकारी दिए । तुलनात्मक रुपमा बैगुनधुराको साबिक ९ नम्बर वडा रहेको दहगाऊँ बढी प्रभावित भएको निरौलाको भनाई छ । जहाँ सन्थाल बस्ती सहित जोखिममा परेका २१ परिवार विस्थापित भएका छन । यस्तै बैगुनधुराका अन्य १२ परिवार विस्थापित भएका छन । उनीहरुलाई सुरक्षित स्थानमा आश्रयको व्यवस्था मिलाईएको छ । हाल बैगुनधुरामा ४ वटा घर उच्च जोखिममा देखिएको पनि निरौलाले जानकारी दिए ।
उनले भने,( “दिनभर लगाएर जोखिममा परेकाको उद्धार गरिएको छ, राहतको लागि के गर्न सकिन्छ भन्ने बिषयमा नगरपालिका र रेडक्रससँग सम्पर्क भइरहेको हुँदा भोलि मौसमको अवस्था हेरेर छलफल गरि अगाडी बढिने छ ।” यस्तै नेपाल रेडक्रस सोसाईटी झापा शाखा सदस्य प्रकास चन्द्र खरेलले बैगुनधुराका १ सय भन्दा धेरै घर बाढीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन । उनले बर्षा कम हुदै गएको र खोला नालामा पानीको सतह घट्ने क्रममा रहेकाले नआत्तिन तर सतर्क रहन अनुरोध गरेका छन ।







