बिर्तममाेड,१९ । जिल्लाको भद्रपुर– ८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा स्व महेन्द्र शाहको अर्धकदको शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएको छ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आह्वानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरुले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए।त्यसबेला शाही सेनाको गोली खाएर शहीद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदानसमेत दिएका थिए।राजतन्त्र ढलेर मुलुकमा गणतन्त्र, लोकतन्त्र स्थापन भएपछि तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाले महेन्द्र पार्कको नाम परिवर्तन गरी शहिद पार्क नामकरण गर्यो। त्यसपछि समन्वय समितिले पार्कको जिम्मा नगरपालिकालाई लगाउने निर्णय गर्यो।
नगरपालिकाको स्वामित्वमा आएपछि यस पार्कलाई हाल बाल उद्यम पार्क भनेर चिन्न थालिएको छ। पार्कभित्र बालबालिकाको मनोरञ्जनका लागि नगरपालिकाले स्थानीय संघसंस्थासँग सहकार्य गरी विभिन्न खेल सामग्री राखेको छ।नगरपालिकाले पार्कभित्र विभिन्न खेल सामग्री राखे पनि शालिक राखिएको स्थानमा नेपालको राष्ट्रिय झन्डा मात्र राखिएको थियो।
१६ वर्षपछि अहिले आएर महेन्द्र पार्कमा पुनः पूर्व-राजा महेन्द्रको अर्धकदको शालिक राख्ने कार्यक्रम लगभग तय भइसकेको थियो। बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका थिए।स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी महेन्द्र शालिक पुन:स्थापना समितिले यही जेठ २१ गते शनिबार शालिक पुन:स्थापना गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचारप्रसार गरेपछि विवाद सतहमा पुगेको हो।
शालिक पुन:स्थापना समितिले भद्रपुर नगरपालिकासँग समन्वय नगरी पार्कभित्र प्रवेश गरी रंगरोगन र सरसफाइ गर्न सुरु गरेको छ। नगरपालिकाले त्यो थाहा पाएपछि नगर प्रहरी लगाएर पार्कभित्रको काम तत्काल बन्द गर्न लगायो। पार्कमा शालिक पुन:स्थापनाको विषयमा अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेको छ।शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल शालिक पुन:स्थापना नगर्न रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रूपमा त्यहाँ पूर्व-राजा महेन्द्रको शालिक पुन:स्थापना गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रंगरोगन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको उनले बताए।बैठकमा जनप्रतिनिधिसहित नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि र प्रहरी, प्रशासन प्रमुखहरूको उपस्थिति रहेको थियो।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा शालिक पुन:स्थापना गर्ने प्रक्रिया कानुनसम्वत नभएको बताए।महेन्द्र पार्कलाई अघिल्लो नगरसभाले बाल उद्यमको रूपमा विकास गर्दै लैजाने भनी लिखित निर्णय गरिसकेको छ।







