मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ । एमालेका नगरप्रमुखका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् । इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३ हजार ८९५ मत पाएका छन् ।
त्यस्तै एमालेबाट उपप्रमुखकी उम्मेद्वार मिना पोखरेल उप्रेती २१ हजार ५९० मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धीहरु गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ र राप्रपाकी सविना बजगाईले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।
बुढाथोकी प्रदेश १ को सांसद समेत रहिसकेका छन् । मेचीनगरमा ७७ जना जनप्रतिनिधि मध्ये यसपटक एमालले मेयर–उपमेयरसहित ६८ वटा स्थान हासिल गरेको छ ।
१५ वटा वडामध्ये ३ वटा कांग्रेस, एउटा माओवादी केन्द्र बाहेक सबै वडा एमालेले जित हाँसील गरेको छ । त्यसमा पनि १० वटा वडामा एमालेले प्यानलै जितेको छ ।
मेचीनगर–१, २, ३, ४, ५, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा एमालेले हात पारेको छ । जसमा २ नम्बर वडा बाहेक अरु सबै वडामा एमालेले प्यानलै जितेको छ । कांग्रेसले मेचीनगर–६, ८ र १५ तथा माओवादी केन्द्रले १४ नम्बर वडा हात पारेको छ ।







