वीरगञ्जका पत्रकारहरूले पेनडाउन गरेका छन् । निर्वाचनको सूचना दिन समस्या भएको र सहज वातावरण नबनाइदिएको भन्दै पत्रकारहरूले पेनडाउन गरेका हुन् ।
पत्रकारलाई सूचना दिन वञ्चित गरेको भन्दै पेनडाउन गरिएको नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवालले जानकारी दिए । उनले भने, ‘निर्वाचनसम्बन्धी सूचना पाउने जनताको अधिकार भए पनि यहाँका निर्वाचन अधिकृतले कुनै व्यवस्था गरेनन्, सूचना दिनमा बेवास्ता गरे । नेपाल पत्रकार महासंघले पनि समन्वयात्मक भूमिका खेल्न सकेको छैन ।”
पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको उदासिनताका कारण मत गणनास्थलमा सञ्चारकर्मीलाई सूचना पाउनबाट वञ्चित गरिएको अग्रवालले सामाजिक सञ्जालमा लेखेका छन् । महासंघका अध्यक्षसँगै केन्द्रीय महासचिवलाई समेत सञ्चारमैत्री वातावरण नभएको अवगत गराए पनि अवस्था सहज नभएको पत्रकार निरज पिठाकोटे मगरको भनाइ छ ।
नेपाल टेलिभिजनका पर्सा जिल्ला संवाददाता विजय चौहान, रातो पाना डटकमका प्रबन्ध निर्देशक अमित अग्रवाल, ग्यालेक्सी फोर के का पर्सा जिल्ला संवाददाता जियालाल केसी, हिमालयन टेलिभिजनका प्रणय साह, नितेश कर्ण, लगायतका पत्रकारहरूले पेनडाउन गरेको घामछायाँ अनलाइनका संवाददाता जय यादवले जानकारी दिए ।







