नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको उनको भनाइ छ।
राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताए। उनले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पारे ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।
अध्यक्ष पोखरेललले राज्यले सधैंभरी प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए। उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए।







