सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले संक्रमण दर बढिरहेको भन्दै विश्वव्यापी रुपमा संक्रमण घटेको भए पनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ’, उनले भने, ‘हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ। भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ।’
बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशनसमेत दिइसकेको बताए।
सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए। सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए।
‘पछिल्लो समय हाम्रो आम व्यवहार, बुझाइ हेर्यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदैगएको छ। साथै जनसंख्याको मापदण्डको उल्लंघन बढी नै भएको देखिन्छ’, उनले भने, ‘भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको,भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ।’
सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए।
‘तपाईले लगाउने मास्क, गर्ने व्यवहार, कायम गर्ने भौतिक दूरी र तपाई हामीसँग जोडिएका मान्छेहरु संक्रमण बढी भएको ठाउँबाट फर्केर आउँदा समस्या हुनसक्छ,’ उनले भने, ‘अहिले विविध कारणले यो अवस्था देखिएको छ। चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ। यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ। यति गरेमा हामीले सम्भावित जोखिमलाई टार्न र केही समय पर धकेल्न सक्छौँ।’
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए। उनले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए।
सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताए। उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताए।
‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ। पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ’, उनले भने, ‘तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन्। कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ।’
सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे।
उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिए।







