चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ ।
राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।
चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ । उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन । चिया र अचारसँग यो परिकार खाने चलन छ ।
जाडोयाममा माग बढ्ने हुँदा कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको व्यापार फस्टाउने गरेको स्थानीय व्यापारी बताउँछन् ।
झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बिक्री गर्ने पसलको सङ्ख्या धेरै देखिने गरेको छ । भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । नयाँ पुस्ता भने भक्काको व्यापारमा आकर्षित देखिएका छैनन् ।
विद्यालय र क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीहरुमा भक्का बेच्न राखिएका फुटपाथ पसलमा झुम्मिने गरेको पाइन्छ ।
पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान नै बनिसकेको भक्काको रैथाने स्वादलाई प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ ।







