आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ ।
निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आयोगले विभिन्न सात वटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गर्ने गरी २०८० असार १८ गते नै त्यसको प्रारम्भिक मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो ।
मतदाता नामावली ऐन, स्थानीय तह निर्वाचन ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनलाई एकीकृत गरेर एउटै ऐन बनाउन लागिएको हो । लामो समयदेखि उक्त मस्यौदा मन्त्रालयमा थन्किएर रहेको छ ।
पछिल्लो पटक सरकारले आग्रह गरेपछि निर्वाचन आयोगले आवश्यक परिमार्जनसहित २०८३ जेठ २२ गते पुन: निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो ।
यसरी तयार ‘निर्वाचन व्यवस्थापन विधेयक’को एकीकृत मस्यौदामा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था थप गर्ने गरी हालै निर्वाचन आयोगले यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।
निर्वाचन आयुक्त वाग्लेका अनुसार कुनै एउटा निर्वाचनबाट गर्ने नभनेर जुनसुकै तहको निर्वाचनको सन्दर्भमा बाह्य मतदान र अन्तरजिल्ला मतदान गर्न सकिने कानुनी पक्ष, प्रावधिक पक्ष र व्यावहारिक पक्ष समेतलाई ख्याल गरेर गृह मन्त्रालयलाई सुझाइएको छ ।







