आईसीसी विश्वकप क्रिकेट लिग-२ श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।
यो खेल अल अमिरातमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । ओमानमा चलिरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएपछि एकदिवसीय मान्यता जोगाउन आजको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।
यो शृङ्खलामा सुरुआती दुई खेल जितेर शीर्ष-६ को सम्भावनालाई बलियो बनाएको नेपालका लागि क्यानडासँगको हारले गाह्रो बनाएको हो । हारपछि ८ टोली सम्मिलित शृङ्खलाको अंक तालिकामा नेपाल ३५ खेलमा २८ अंकसहित सातौं स्थानमा झरेको छ ।
सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । अब नेपालले शीर्ष-६ मा अटाउन घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । ओमान ३३ अंकसहित चौथो स्थानमा छ । लिग-२ को शीर्ष-६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।
यसअघि शीर्ष-४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।







