सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा-इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो ।
मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा लगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताए ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं.२ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।
प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।







