पितमकुमार धमलाको लेखन तथा निर्देशनमा निर्माण भएको सन्देशमूलक चलचित्र ‘संघर्ष’को राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ ।
विद्यार्थीले वर्तमान समयमा भोगिरहेका विभिन्न समस्या र त्यसले उनीहरूको अध्ययन तथा व्यवहारमा पार्ने प्रभावलाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रमा मोबाइलको अत्यधिक प्रयोग, विद्यालयमा हुने बुलिङ, शिक्षक तथा अभिभावकको जिम्मेवारीलगायत विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ ।
एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक वातावरणले उसको पढाइ र व्यवहारमा पार्ने प्रभावलाई समेत चलचित्रले देखाउन खोजेको छ । चलचित्रकी मुख्य पात्र ‘गीता’मार्फत आर्थिक अभाव सफलताको बाधक नहुने र त्यसका लागि मेहनत, अनुशासन तथा लगनशीलता आवश्यक पर्ने सन्देश दिन खोजिएको छ ।
विद्यार्थीलाई आवश्यकताभन्दा बढी सुविधा उपलब्ध गराउँदा उनीहरूको व्यवहार र अध्ययनमा समस्या आउन सक्ने अवस्थालाई पनि चलचित्रमा समेटिएको छ ।
चलचित्रमा बाल कलाकार कृषा भण्डारी मुख्य भूमिकामा छन् । राजु खरेल, राज लावती, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दिपा पोखरेल र तुलसी मिश्रलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद मञ्जिल अधिकारीले तयार गरेका हुन् । राज लावतीले नृत्य निर्देशन, सुवास लिम्बूले छायांकन तथा सम्पादन, राजु खरेलले उत्पादन व्यवस्थापन र विष्णु कार्कीले मेकअपको जिम्मेवारी सम्हालेका छन् । चलचित्रका गीतमा दिनेशराज शर्मा र डा.कुमार सुवेदीका शब्द छन् ।
विशेष प्रदर्शनपछि दर्शकले पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको मोबाइल प्रयोग र त्यसबाट सिर्जना भइरहेका समस्यालाई चलचित्रले सन्देशमूलक ढङ्गले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए ।
प्रदर्शनअघि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले स्थानीयस्तरमा चलचित्र निर्माण हुनु र स्थानीय कलाकारलाई अवसर दिँदै ग्रामीण परिवेशका विषयलाई पर्दामा उतार्नु सकारात्मक पक्ष भएको बताइन् ।







