दोश्रो संस्करणको बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र पारिएको छ ।
बुद्धशान्ति प्रेस क्लब झापाले दशैँको अवसरमा पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको दोस्रो संस्करणको बुद्धशान्ति १ झापा मिडिया कप-२०८३ को तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
शनिबार बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले आगामी असोज २४ र २५ गते बुधबारेस्थित बुद्ध आदर्श माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहने छ । उनले अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिने बताए ।
पहिलो संस्करणमा विजेता टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता टोलीलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस वर्ष पनि बुद्धशान्ति गाउँपालिका-१ मुख्य प्रायोजक रहने भएको छ ।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका-१ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष आनन्द गौतम, वरिष्ठ पत्रकार गणेशमान मुखिया लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उपाध्यक्ष तथा खेल संयोजक नारायण अर्यालले प्रतियोगिताको तयारी तथा खेलसम्बन्धी विषयमा जानकारी दिएको पत्रकार सम्मेलनको सञ्चालन क्लबका सचिव रोशन भट्टराईले गरेका थिए ।







