शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् ।
मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका निम्ति महत्त्वपूर्ण रहेको बताए ।
प्राप्त सुझावलाई समेटेर नयाँ पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे । उनले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गरिनुपर्ने बताए ।
यही भदौ २६ गते धनुषाबाट सुरु मन्त्रीसहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको छ । यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव संकलन गरिएको थियो ।
कक्षा कोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव र सुझावले आगामी शिक्षा ऐनलगायत कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने मन्त्री पोखरेलको भनाइ छ ।







