विद्यार्थीहरूमा सामान्य ज्ञान तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै भविष्यमा लोकसेवा आयोगलगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाप्रति रुचि बढाउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकास्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ ।
बुद्धशान्ति गाउँपालिका-१ को सहकार्यमा बुधबारे जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
वडा कार्यालयले शिक्षा तथा युवा लक्षित कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्थापन गरेपछि जेसीजले कार्यक्रमको आयोजना तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभित्रका निजी तथा सामुदायिक माध्यमिक विद्यालयहरूको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारीले जानकारी दिए ।
जेसीज सप्ताहअन्तर्गत प्रतियोगिता चाँडै आयोजना गरिने उनले बताए ।
विद्यार्थीहरूमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकाससँगै भविष्यमा लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बुद्धशान्ति गाउँपालिका-१ का वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् ।
वडा कार्यालय र बुधबारे जेसीजबीच शिक्षा, युवा तथा नेतृत्व विकासका क्षेत्रमा आगामी दिनमा समेत आवश्यकताअनुसार सहकार्य गर्दै अघि बढ्ने समझदारी रहेको जनाइएको छ ।







