झापाको मेचीनगरमा आयोजित पारिजात टी-२० क्रिकेट प्रतियोगिताको उपाधि एकता एकेडेमी दमकले जितेको छ ।
मेचीनगर-९ स्थित कवि शिरोमणि माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एकता एकेडेमीले उपाधि हात पारेको हो ।
उपाधिसँगै एकता एकेडेमीले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने फाइनलमा उपविजेता बनेको नवदित एकेडेमीले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
भदौ २० गतेदेखि सुरु भएको प्रतियोगितामा झापाका विभिन्न विद्यालयका आठवटा स्कुल तथा एकेडेमीका टोलीको सहभागिता रहेको थियो। नयाँ तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने र उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक पारिजात पब्लिक स्कुल मेचीनगर रहेको थियो भने सरस्वती क्रिकेट एकेडेमी मेचीनगर आयोजकका रूपमा रहेको थियो ।
सरस्वती क्रिकेट एकेडेमीका अध्यक्ष सजेश पुरीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा पारिजात पब्लिक स्कुलका सहायक प्रिन्सिपल शिशिर पोखरेल, मेचीनगर-९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, पूर्व खेलाडी लाक्पा लामा तथा पत्रकार झुलन रेग्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन राजु धिमालले गरेका थिए ।







