झापाको अर्जुनधारा नगरपालिका-८ स्थित शनिश्चरे माध्यमिक विद्यालयकी छात्रा रोशिका पौडेल अन्तर विद्यालय आधारभूत तह (कक्षा ६-८) निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छिन् ।
६२ औं राष्ट्रिय बाल दिवसलाई लक्षित गरी जलेश्वर सामुदायिक सिकाइ केन्द्र अर्जुनधारा-८ को आयोजनामा अर्जुनधारा-९ स्थित कालिस्थान माध्यमिक विद्यालयमा बिहीबार सम्पन्न भएको प्रतियोगितामा रोशिका प्रथम भएकी हुन् ।
“मोबाइल फोनको बढ्दो प्रयोग र त्यसका असरहरु” शिर्षक रहेको उक्त प्रतियोगितामा अर्जुनधारा-१ स्थित सिंहदेवी माध्यमिक विद्यालयकी छात्रा क्रिस्टिना कुँवर द्वितीय, अर्जुनधारा-११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयकी छात्रा एलिसा मंग्राती तृतीय र अर्जुनधारा-१ स्थित गणेश आधारभूत विद्यालयका छात्र प्रज्वल दाहाल सान्तवना भएका थिए ।
उनीहरुलाई नगद पुरस्कार क्रमश: दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र पाँच सयसहित प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो भने प्रतियोगिताका अन्य सहभागीहरुलाई पनि सहभागिताको प्रमाण पत्रसहित नगद जनही दुई सय रुपैयाँ प्रदान गरिएको थियो ।
१५ वटा सामुदायिक विद्यालय र दुई वटा धार्मिक विद्यालयसहित जम्मा १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिबहादुर कवर, पूर्व शिक्षक हरिनारायण भट्टराई र केन्द्रकी अध्यक्ष पुनम पोख्रेल सुवेदी निर्णायक रहेका थिए ।
केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा-९ का वडाध्यक्ष भीष्म मिश्रले उद्घाटन गरेका थिए ।
केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईंले प्रतियोगिताको औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहजकर्ता मञ्जु दाहालले गरेकी थिइन् ।







