नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजले उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको थियो ।
उक्त राहत हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईं, संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, पूर्वअध्यक्ष तथा संरक्षक मुकुन्द ढुंगाना, संघीय सांसद प्रकाश पाठक, अन्तर्राष्ट्रिय झापाली समाज नेपाल समन्वय समितिका संयोजक राजु थापा, झापाली समाज अमेरिकाबाट डिल्ली थापा, झापाली समाज अष्ट्रेलियाबाट मदन धौराली तथा प्रेम चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
राहत अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरूले सक्रियतापूर्वक सहयोग जुटाई अन्तर्राष्ट्रिय झापाली समाजको खातामा रकम जम्मा गरेका थिए ।
अभियानमा झापाली समाज अष्ट्रेलियाले ५,००,०००, झापाली समाज अमेरिकाले २,००,०००, झापाली समाज साउदी अरेबियाले १,७७,११०, झापाली समाज माल्टाले १,२८,०००, झापाली समाज बेल्जियमले १,१०,९७६, झापाली समाज नेदरल्याण्डले १,००,०००, झापाली समाज ओमानले १,००,००० झापाली समाज कुवेतले १,००,००० र झापाली समाज कतारले ५०,००० सहयोग गरेको झापाली समाज ओमानका प्रथम उपाध्यक्ष शेखर खतिवडाले जानकारी दिए ।
राष्ट्रिय समितिहरूबाट प्राप्त उक्त सहयोगसहित अन्य सहयोग रकमसमेत समावेश गरी अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजमार्फत गरिएको यस एकमुष्ट सहयोगबाहेक पनि विभिन्न राष्ट्रिय समितिहरूले आ-आफ्नो राष्ट्रिय समितिको तर्फबाट छुट्टै रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गरिसकेका छन् । ती राष्ट्रिय समितिहरूले छुट्टै रूपमा प्रदान गरेको सहयोग रकमको विवरण हाल संकलन भइरहेको छ ।
त्यसैगरी सबै राष्ट्रिय समितिबाट प्राप्त विवरण संकलन भएपछि अन्तर्राष्ट्रिय झापाली समाजमार्फत प्रदान गरिएको १५ लाख तथा राष्ट्रिय समितिहरूले छुट्टै रूपमा प्रदान गरेको सहयोगसमेत जोडेर विश्वभरका झापाली समाजहरूको कुल राहत योगदानको समग्र विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।







