निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको पूर्व निर्धारित कार्यक्रमअनुसार जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको प्याब्सन बिर्तामोड अन्तरगत नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी तथा बिर्तामोड नगर प्याब्सनका प्रमुख सल्लाहकार उत्तम खनाल लगायतले शुभकामना मन्तव्य राखेका नगर कमिटी सह-कोषाध्यक्ष दिपक चौलागाईंले जानकारी दिए ।
प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, सचिव लक्ष्मिप्रसाद उप्रेती, जिल्ला सदस्य सन्तोष सुब्बा, देवेन्द्र हुमागाईं, बिर्तामोड नगर प्याब्सनका प्रमुख सल्लाहकार उत्तम खनाल लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव दिपङ्कर मैनालीले गरेका थिए ।
न्यूटन्सका विद्यार्थीको उत्कृष्ट प्रदर्शन
प्रतियोगितामा प्याब्सन बिर्तामोड अन्तरगत न्यूटन्स एजुकेसन एकेडेमीका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा विद्यालयबाट विभिन्न १३ विधामा विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १२ विधामा न्यूटन्सका विद्यार्थीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा काश्भी शिवाकोटीले चित्रमा रङ भर्ने प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने डेलिया लामिछानेले नेपाली हस्तलेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरिन् ।
चित्रमा रङ भर्ने प्रतियोगितामै आयन श्रेष्ठले दोस्रो स्थान हासिल गरे भने साक्षी काफ्लेले अंग्रेजी हस्तलेखन, साया सुवेदी र लक्षता निरौलाले नेपाली श्रुतिलेखन तथा अन्वेशा थापाले अंग्रेजी निबन्ध लेखनमा दोस्रो स्थान प्राप्त गरेका छन् ।
त्यस्तै हाजिरीजवाफ प्रतियोगितामा दिया उप्रेती र प्रसिद्धराज अधिकारीको जोडीले दोस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताका अन्य विधामा पनि न्यूटन्सका विद्यार्थीले उल्लेख्य सफलता हात पारे । प्रोशेष राईले चित्रकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरे भने समर खड्काले अंग्रेजी श्रुतिलेखन, स्मृति ढुङ्गेलले नेपाली निबन्ध लेखन तथा निश्चल पाठकले नेपाली कविता लेखन तथा वाचन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।







