नेपालको प्रतिनिधित्व गर्दै झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा अवस्थित फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनका विद्यार्थीहरू भारत प्रस्थान गरेका छन् ।
दार्जिलिङमा आयोजना हुने बृहत् नेपाली सांस्कृतिक नृत्य आदानप्रदान कार्यक्रममा सहभागी हुन विद्यार्थीहरू आज भारत प्रस्थान गरेका हुन् ।
गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङको आयोजनामा अगष्ट २० (भाद्र ४) मा हुने उक्त कार्यक्रममा समग्र नेपालको प्रतिनिधित्व गर्दै फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनका १० जना विद्यार्थी र तीन जना शिक्षक प्रतिनिधि सहभागी छन् ।
उक्त अवसरमा विद्यार्थीहरूले नेपालको पश्चिमी क्षेत्रको मौलिक हुड्केली नृत्य तथा पूर्वी नेपालका बायुङ राई समुदायको सेग्रो नृत्य प्रस्तुत गर्ने छन् । विभिन्न भूगोल, जातजाति र समुदायमा प्रचलित नेपालको मौलिक लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा प्रस्तुत गर्ने अवसरले विद्यार्थीहरूमा सांस्कृतिक ज्ञान, आत्मविश्वास र प्रस्तुतीकरण क्षमताको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस्ता प्रकारका सांस्कृतिक आदानप्रदान कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक अध्ययन तथा अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको विविधतापूर्ण लोककला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनको यो सहभागिताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन तथा विद्यार्थीहरूलाई नेपालको सांस्कृतिक दूतका रूपमा प्रस्तुत गर्नसमेत महत्वपूर्ण योगदान पुर्याउने विद्यालयले अपेक्षा गरेको छ ।







