यही अगस्ट महिनाको ३० तारिखदेखि मलेशियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ ।
एशियाली क्रिकेट परिषद् (एसीसी) ले आज परिमार्जित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्ट ३० मा बहराइनसँग खेल्ने छ ।
यसअघि नेपालले सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्ने तय भएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेशिया रहेका छन् भने समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् ।
समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ ।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एशिया कपमा छनोट हुनेछ । एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।







