झापाको शिवसताक्षी नगरपालिकाको नगर बाल सञ्जालको पदावधि सकिएको लामो समय बितिसक्दा पनि पुनर्गठन हुन नसकेको भन्दै वडास्तरका बाल सञ्जालका पदाधिकारीले तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।
बालबालिकाको अधिकार, सहभागिता, नेतृत्व विकास तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नगर बाल सञ्जाल १५ महिनादेखि पुनर्गठन हुन नसकेको भन्दै उनीहरूले यसप्रति गम्भीर चासो र आपत्ति जनाएका हुन् ।
दुई वर्षे कार्यकालका लागि २०८० असार ३ गते शिवसताक्षी नगरपालिका-२ स्थित मोती माध्यमिक विद्यालयका सुजल पोखरेलको अध्यक्षतामा नगर बाल सञ्जाल गठन भएको थियो । उक्त सञ्जालको पदावधि २०८२ असार २ गते समाप्त भएको हो । पदावधि समाप्त भएको १५ महिना बित्न लाग्दासमेत नयाँ नगर बाल सञ्जाल गठन हुन नसकेको बाल सञ्जालका पदाधिकारीले बताएका छन् ।
वडास्तरमा गठन भएका बाल सञ्जालका पदाधिकारीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नगर बाल सञ्जाल पुनर्गठनमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरूले बालबालिकाको आवाजलाई स्थानीय तहसम्म पुर्याउने महत्वपूर्ण संयन्त्र नै लामो समयदेखि निष्क्रिय हुँदा बालबालिकाको अर्थपूर्ण सहभागितामा असर परेको बताए ।
नगर बाल सञ्जाल बालबालिकाको अधिकार संरक्षण, सहभागिता र नेतृत्व विकासका साथै स्थानीय तहमा बालमैत्री शासन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विज्ञप्तिमा पुनर्गठन प्रक्रियामा भइरहेको ढिलासुस्ती, बेवास्ता र उदासीनताले बालबालिकाको सहभागितामाथि प्रश्न उठाएको जनाइएको छ ।
बालबालिकासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया तत्काल अघि बढाउनु स्थानीय सरकारको जिम्मेवारी भएको उनीहरूको भनाइ छ । उनीहरूले शिवसताक्षी नगरकार्यपालिकासँग नगरस्तरीय बाल सञ्जाल तत्काल पुनर्गठन गर्न माग गरेका छन् ।
नयाँ नेतृत्व चयन गर्दा प्रक्रिया पारदर्शी, समावेशी र बालमैत्री हुनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । बालबालिकाको अधिकार र सहभागितालाई कुनै पनि बहानामा ओझेलमा पार्न नहुने भन्दै नगर बाल सञ्जाललाई सक्रिय, प्रभावकारी र बालबालिकाको वास्तविक आवाज बन्ने संस्थाका रूपमा विकास गर्न स्थानीय सरकार र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने उनीहरूको माग छ ।
उक्त विज्ञप्तिमा बाल सञ्जाल वडा नं.८ का अध्यक्ष सेन्जल बास्कोटा, वडा नं.२ का उपाध्यक्ष रिया बास्तोला र उज्जवल ज्योति वडा बाल सञ्जालका अध्यक्ष पवन दाहालले हस्ताक्षर गरेका छन् ।







