ह्वाइटहाउस एजुकेसन फाउण्डेसन अन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले ‘रन फेस्ट’ र ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन सुरुसँगै प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राखेर ह्वाइटहाउस कलेजले बिर्तामोडमा यी दुई कार्यक्रम आयोजना गर्ने आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका विषयमा जानकारी दिँदै कार्यक्रमका विषयमा जानकारी दिएका हुन् ।
विगत तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षा प्रवाहमा योगदान दिँदै आएको उल्लेख गर्दै उनले पूर्वी नेपालमा पनि उत्कृष्ट उच्च शिक्षाको नयाँ अध्याय सुरु गरिएको बताए ।
विद्यार्थीलाई डिग्रीसँगै सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (एआई) तथा विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्यका साथ कलेज बिर्तामोडमा सञ्चालनमा ल्याइएको बताएका छन् ।
स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले शनिबार बिहान ५:३० बजे ‘ह्वाइटहाउस रन फेस्ट-२०२६’ हुने भएको छ ।
उक्त कार्यक्रममा बिर्तामोडबासी, विद्यार्थी, अभिभावक, युवा तथा खेलप्रेमीहरु सहभागी हुने ह्वाइट हाउस रन फेस्टका संयोजक आयुष अग्रवालले जानकारी दिए ।
त्यस्तै कलेजमा तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ‘ह्याकाथन’मा देशभरबाट १४० भन्दा बढी विद्यार्थीको सहभागी रहेको कलेजका प्रिन्सिपल रञ्जित साहले जानकारी दिए ।
प्रतिस्पर्धामा उत्कृष्ट हुने प्रथम टोलीलाई ५० हजार रुपैयाँ र द्वितीय टोलीलाई २० हजार रुपैयाँ पुरस्कारसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।







