झापाको अर्जुनधारा-११ मा अवस्थित जुनकीरी सार्वजनिक आधारभूत विद्यालय तथा स्थानीय बालगृहमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ ।
भारतीय सेनाका पूर्व हवल्दार तथा सामाजिक व्यक्तित्व स्वर्गीय तेजबहादुर ओनेमको वार्षिकीको अवसरमा परिवारका तर्फबाट विद्यालय र बालगृहलाई चामल, दाल, तेल लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
स्वर्गीय ओनेमको स्मृतिमा आयोजित उक्त कार्यक्रममा उनकी श्रीमती गंगा लिम्बू, छोरा मङ्गल ओनेम तथा दिदी दिलमाया लिम्बूको विशेष उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर मगरले सहयोगी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै स्वर्गीय ओनेमको समाजसेवा र मानवीय योगदान सधैं प्रेरणाको स्रोत रहने बताए ।
विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।







