सबै विश्वविद्यालय तथा अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना निकाल्दै आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन् ।
विश्वविद्यालयहरूको परिपत्रअनुसार शैक्षिक सत्र २०८३/८४ का लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयबाट स्वीकृत कुल सिट सङ्ख्याको कम्तीमा १० प्रतिशत सिट जेहेनदार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था छ । ती सिटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्तिसम्बन्धी कार्यविधिअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिनेछ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने निर्णयले शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।







