बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २-१ गोलले पराजित भएको हो ।
स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक-एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी पुगेको थियो ।
खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्याए । स्पेनले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।
विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा भोलि बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड तथा अन्तिम क्वार्टरफाइनलमा बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्ने छन् ।







