विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा अब ‘सदाचार शिक्षा’ समावेश गरिने भएको छ ।
सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति-२०८३ मा उक्त नीति उल्लेख छ ।
सदाचार नीतिमा भनिएको छ, ‘सदाचार शिक्षाका विषयलाई विद्यालय र विश्वविद्यालयका साथै अनौपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्ने ।’
यसैगरी शिक्षकरप्रशिक्षकका लागि सदाचार तालिम कार्यक्रम प्रदान गरी नैतिक शिक्षा र सदाचारलाई नियमित रूपमा शिक्षण गराउने पनि सदाचार नीतिमा उल्लेख छ ।
‘सबै क्षेत्र र तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा सदाचार शिक्षालाई समावेश गर्ने, शैक्षिक संस्थामा संलग्न सबैले संस्था बाहिर र भित्र नैतिक सिद्धान्तहरूको पालना गर्ने र जिम्मेवारीपूर्वक व्यवहार गर्ने, शैक्षणिक कार्यमा इमान्दारी, अरूप्रति सम्मान र सकारात्मक सिकाइ वातावरण कायम गर्न योगदान पुऱ्याउने ’सदाचार नीति’मा उल्लेख छ ।
शिक्षक, सहपाठी र शैक्षिक समुदायका सबै सदस्यहरूसँग शिष्टाचारयुक्त एवम् सभ्य व्यवहार गर्ने र विविध दृष्टिकोण तथा विचारको कदर गर्ने, प्राज्ञिक गतिविधिहरूमा सक्रिय रूपमा भाग लिने पनि भनिएको छ ।
‘विद्यार्थी, शिक्षक, प्राध्यापक, अनुसन्धाताले सबै शैक्षिक गतिविधिमा इमान्दारी, सत्यनिष्ठा, निष्पक्षता, सम्मान, जवाफदेहिता र प्रेरणादायी व्यवहार प्रदर्शन गर्ने, शोध अनुसन्धानमा बौद्धिक सम्पत्तिको सम्मान गर्दै साहित्यिक भावहरणबाट टाढा रहने, शिक्षाको समग्र पर्यावरणमा लैङ्गिक संवेदनशीलता अपनाउँदै व्यवहारमा तदनुरूप आचरण गर्ने ’सदाचार नीति’मा उल्लेख छ ।







