फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समुह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले हराएको हो ।
तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २-० ले अगाडि पुग्यो । ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए ।
६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३-१ ले विजयी भयो । सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ ।
त्यस्तै आजै भएको अर्को खेलमा बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १-१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरेका थिए ।
जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।







