झापाको बिर्तामोड नगरपालिकामा बालमैत्री नगर घोषणाका लागि सरोकारवालाहरुसँग अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
नगरपालिकाको सभाहलमा बिहीवार बालबालिका सम्बन्धी सूचकहरुको प्रवद्र्धन तथा कार्यान्वयनका लागि सरोकारवालाहरुसँग अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा लक्ष्य परामर्श तथा अनुसन्धान केन्द्र प्रालिको प्राविधिक सहयोगमा अभिमूखिकरण कार्यक्रम गरिएको थियो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक बिजय तिम्सिनाले गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगरलाई बालमैत्री नगर घोषणा गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको बताए । उनले बालमैत्री नगर घोषणा गर्न ५१ वटा सूचकहरु पूरा गर्नु पर्ने बताए ।
प्रशिक्षक तिम्सिनाले बालमैत्री नगर घोषणाका लागि आवश्यक सूचकहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका-२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगरपालिका-६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा लगायतको आतिथ्य रहेको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले गरेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अभिषेक मिश्रले गरेका थिए ।







