झापाको अर्जुनधारा नगरपालिकामा स्थापना गरिएको रामकुमार आछामी स्मृति अक्षयकोषले शिक्षक, कर्मचारी तथा विद्यार्थी सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
अक्षयकोषको आयोजनामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
दीपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तारा विश्वकर्मा रहेका थिए ।
कार्यक्रममा २०८२ सालको अर्जुनधारा नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । सम्मानित हुनेमा गणेश आधारभूत विद्यालयकी रितिका गिरी, सिंहदेवी माध्यमिक विद्यालयका ओमविक्रम न्यौपाने, लक्ष्मी माध्यमिक विद्यालयका हृदयेन्द्र किरण नेपाल तथा शनिश्चरे माध्यमिक विद्यालयकी कक्षा १२ की विद्यार्थी प्रिया सापकोटा रहेका छन् ।
त्यसैगरी शैक्षिक नेतृत्व र अध्यापनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट प्रधानाध्यापकका रूपमा सरस्वती आधारभूत विद्यालयका टेकबहादुर बुढाक्षेत्री, उत्कृष्ट शिक्षकका रूपमा नवदुर्गा आधारभूत विद्यालयकी कल्पना राजवंशी तथा जनता माध्यमिक विद्यालयका युवराज निरौला लगायतलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि विश्वकर्मा, केदारनाथ पोख्रेल, दामोदर पौडेल, रुद्र पौडेल र चन्द्र खत्री लगायतले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा समाज निर्माणमा थप योगदान दिन शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका क्रममा अक्षयकोषका संस्थापक खड्गबहादुर गोलले स्वर्गीय रामकुमार आछामीको जीवन, व्यक्तित्व र शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे प्रकाश पारे । उनले आछामीलाई असल नेतृत्वकर्ता, मिलनसार स्वभावका तथा कुशल प्रधानाध्यापकका रूपमा स्मरण गर्दै शिक्षाप्रति समर्पित व्यक्तित्वको रूपमा चर्चा गरेका थिए ।
आछामीको २०७५ चैत ९ गते काठमाडौँबाट घर फर्कने क्रममा भएको सवारी दुर्घटनामा निधन भएको थियो । उनको स्मृतिलाई चिरस्थायी बनाउन स्थापना गरिएको अक्षयकोषले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थी तथा शैक्षिक व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।
चन्द्रकला भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कमल पौडेलले गरेका थिए ।







