१९ औ गणतन्त्र दिवसको अवसर पारेर वीरता जेसीजको आयोजनामा झापाको बिर्तामोडमा भएको ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था: उपलब्धि र चुनौती’ विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा इन्भेन्चर विद्यालयकी छात्रा प्रश्ना प्रसाईं प्रथम भएकी छन् ।
युवाहरूमा नेतृत्व, अभिव्यक्ति कला तथा राष्ट्रिय चेतनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक गरी करिब २३ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी प्रतियोगितामा एभरेष्ट विद्यालयकी आरुशी शिवाकोटी द्वितीय, कञ्चनजंघा विद्यालयकी तिलश्मी न्यौपाने तृतीय तथा न्यूटन्स स्कुलकी किन्जन पोखरेल सान्त्वना भएकी छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश: नगद ५ हजार, ३ हजार र २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार स्वरूप नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई समेत सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी देवु बानियाँ तथा राधिका ओली रहेका थिए ।
वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, वीरता जेसिजका पूर्व अध्यक्ष सिनेटर अध्यक्ष घनश्याम चौधरीलगायतले गणतन्त्र दिवसको अवसरमा युवाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास तथा राष्ट्रिय चेतना विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रम संयोजक प्रभास थापा मगरले स्वागत गरेको कार्यक्रममा जेसी आस्था वाचन अजयकुमार चौधरीले तथा कार्यक्रम सञ्चालन तालिम आयुक्त बिज्ञाराज पौडेल तथा वीरता जुनियर जेसीजकी महासचिव जुजेसी बिनिता आचार्यले संयुक्त रूपमा गरेका थिए ।







