झापा गाउँपालिका वडा नं२ मा कुवाडी देवी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा बसेकाहरुले जग्गा कब्जा गर्ने नियत देखिएको छ ।
जग्गामा बसोबास गरिरहेकाहरुले विद्यालयले भनेको नमानी अटेर गर्दै आएका छन् । जग्गामा बस्दै आएका व्यक्तिहरूलाई विवरण उपलब्ध गराउन विद्यालयले सात दिने सूचना जारी गरेको थियो । तर बिहीबार अन्तिम दिनसम्म जग्गामा बस्ने अधिकांश व्यक्तिहरू सम्पर्कमा नआएको प्रधानाध्यापक मुकेशकुमार कर्णले बताए ।
विद्यालयले सार्वजनिक सूचना जारी गर्दै विद्यालयको जग्गामा बसेका व्यक्तिहरूलाई आवश्यक कागजात तथा विवरणसहित विद्यालयमा उपस्थित हुन भनिएको थियोे । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख व्यवस्थित गर्नुपर्ने प्रक्रियाअन्तर्गत उक्त सूचना जारी गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयको नाममा ११ विगाह १७ कठ्ठा जग्गा रहेको छ । उक्त जग्गामा हाल ६५ घरधुरी बसेका छन् । तर विद्यालयले जारी गरेको सूचनापछि हालसम्म ७-८ घरधुरी मात्र सम्पर्कमा आएको विद्यालयका प्रधानाध्यापक कर्णले जानकारी दिएका छन् ।
विद्यालयले दिएको सात दिने सूचनाको अन्तिम दिनसम्म अधिकांश व्यक्तिहरु सम्पर्कमा नआएपछि अब थप प्रक्रिया अघि बढाइने विद्यालय प्रशासनले जनाएको छ ।
प्रधानाध्यापक कर्णका अनुसार हाल विद्यालय व्यवस्थापन समिति नभएको अवस्थामा तत्काल थप निर्णय गर्न कठिन भएको हो । उनले केही दिनभित्र विद्यालय व्यवस्थापन समिति गठन भएपछि पुनः सूचना जारी गरिने जानकारी दिएका छन् । प्रतिदिन दैनिकबाट







