तेस्रो जिल्लास्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लब बुधवारेले जितेको छ ।
मेचीनगर-८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आदर्शले पहिलो हाफमै खेललाई नियन्त्रणमा लिएको थियो । खेलको ९ औँ मिनेटमा आदर्शका सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले खेललाई आफ्नो पक्षमा राख्यो । खेलको ५४ औँ मिनेटमा दिवस बाँस्तोलाले अर्को सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनायो । खेलको ६७ औँ मिनेटमा सनिल लामाले थप एक गोल गर्दै आदर्शको जित सुनिश्चित गरेका थिए ।
प्रतियोगिताको विजेता आदर्शले नगद एक लाख १ हजार र उपविजेताले ५१ हजार नगदसहित ट्रफी पाएका छन् ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङवा ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद एक हजार ५ सयसहित ट्रफी प्राप्त गरेका थिए ।
सर्वाधिक गोलकर्ताको उपाधि आयोजक टोलीका साहिल धिमालले जित्दा उत्कृष्ट गोलरक्षक आदर्शका उपेन्द्र ल्वागुन घोषित भए भने उत्कृष्ट डिफेन्डर आयोजकका अनुसरण राई र इमर्जिङ प्लेयर अंश श्रेष्ठ बने । यी सबै विजेताहरूले जनही नगद तीन हजार १ सय तथा ट्रफी प्राप्त गरेका छन् ।







