देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालय झापाकै पुरानो र स्थापित शैक्षिक संस्थाका रुपमा परिचित रहेको छ । वि.सं.२०५३ सालमा १६ जना विद्यार्थीबाट सुरु भएको देवकुलमा हाल ७०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
झापाको बिर्तामोड नगरपालिका वडा नं.२ मा अवस्थित विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन हुने गरेको छ ।
बुबा धरणीरस मैनालीले दुई वटा कोठाबाट सुरु गरेको विद्यालयमा अहिले भने छोरा दिपङ्करले ४५ वटा सुविधा सम्पन्न कक्षा कोठाबाट समय सापेक्ष शिक्षा विद्यार्थीलाई प्रदान गरिरहेका छन् ।
बुबाले आफू मात्र शिक्षित नभएर समाजका हरेक मानिसहरु शिक्षित हुनुपर्छ भन्ने उद्देश्य राखेर सुरु गरेको विद्यालयलाई निरन्तरता दिनु आफ्नो कर्तव्य ठानेर समय सापेक्षित शिक्षा प्रदान गरिरहेको दिपङ्कर बताउँछन् ।
उनी भन्छन् `बुबाले जुन उद्देश्य राखेर विद्यालय स्थापना गर्नु भयो, त्यसलाई निरन्तरता दिदै विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै समय सुहाउँदो शिक्षालाई प्राथमिकतामा राखेर दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ ।´
विद्यालयले यस शैक्षिक सत्रदेखि पूर्ण रुपमा प्रगतिशील शैक्षिक धार (Progressive Education Approach) लागू गर्ने योजना रहेको प्रीन्सिपल मैनालीले बताए । वैज्ञानिक, प्राविधिक, गणितीय र इन्जिनियरिङ शिक्षालाई प्राथमिकता दिएर अध्यापन गराउने गरिएको उनी बताउँछन् ।
बालमैत्री वातावरणमा अध्यापन हुने विद्यालयमा झापाका विभिन्न पालिकाका विद्यार्थी अध्ययनरत रहेका छन् । एक विद्यार्थी एक कम्प्युटरको अवधारणा लिएको विद्यालयमा सुविधा सम्पन्न साइन्स ल्याबको व्यवस्था रहेको छ ।
वि.सं.२०५९ सालबाट एसएलसीको पहिलो ब्याच उत्पादन गरेको विद्यालयमा बाल क्लब, स्काउट र स्पोर्ट क्लब स्थापन गरिएको छ । स्थापित तथा अभिभावकले बुझेको विद्यालय भएका कारण देवकुल विद्यार्थीको रोजाइको केन्द्र बनेको प्रीन्सिपल मैनालीले बताए ।
सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षालाई बढी प्राथमिकता दिएको देवकुल अतिरिक्त क्रियाकलापमा समेत आफूलाई अब्बल सावित गर्न सफल विद्यालय रहेको छ ।







