विद्यालयको फाइदा भन्दा विद्यार्थीको उज्यालो भविष्यलाई मध्यनजर गर्दै समय सापेक्ष शिक्षा प्रदान गर्दै आएको इर्डन गार्डन एजुकेशन फाउन्डेसन निजी क्षेत्रबाट सञ्चालित पुरानो र स्थापित विद्यालय रहेको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नं.४ मा वि.सं.२०४५ सालमा स्थापना भएको विद्यालयमा हाल ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
वि.सं.२०६१ सालमा एसएलसीको पहिलो ब्याच उत्पादन गरेको इर्डनले हालसम्म शत प्रतिशत नतिजा ल्याउन सफल रहेको संस्थापक प्रिन्सिपल मोहन आचार्यले जानकारी दिए । हल्दिबारी र बिर्तामोडका विभिन्न क्षेत्रका विद्यार्थी अध्ययनरत विद्यालयमा ४५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
स्मार्ट एजुकेशनको व्यवस्था रहेको विद्यालयमा बालमैत्री तरिकाले अध्यापन हुने प्रिन्सिपल आचार्यले बताए । संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयमा होस्टलको समेत व्यवस्था रहेको छ ।
उनी भन्छन् ‘विद्यार्थीको भविष्यमा खेलबाड नगरी समय सापेक्ष शिक्षा प्रदान गर्दै दक्ष शिक्षकबाट गुणस्तरीय तरिकाले अध्यापन गराउने गरेका छौं ।’
विद्यार्थीलाई समय अनुसारको शिक्षालाई जोड्न गत माघ १३ गते १० वटा विद्यालयको सहभागितामा झापामै पहिलो पटक एआई सम्बन्धि कार्यक्रम आयोजना गरेको भाइस प्रिन्सिपल खेमराज आचार्यले जानकारी दिए ।
सहुलियतमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा ल्याउने गरेको भाइस प्रिन्सिपल आचार्यले बताए ।
सैद्धान्तिक मात्र नभएर प्रयोगात्मक शिक्षा आजको आवश्यकता ठानेर समय-समयमा विद्यार्थीलाई लक्षित गरेर प्राविधिक तालिमहरु विद्यालयमा सञ्चालन गरिने गरिएको विद्यालयका कोडिनेटर गिताराम आचार्यले बताएका छन् ।







