सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।
विश्व अटिजम सचेतना दिवसको अवसरमा बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरू, सचिवहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बैठकले सातै प्रदेशमा एक-एक अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमुना विद्यालय स्थापना गर्न लागको जानकारी दिए । उनले नमुना विद्यालय स्थापनाको कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गर्ने बताए ।
शिक्षामन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।







