देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् ।
जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिन लागेका हुन् ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा आउँदो २९ गते सकिनेछ । परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन ।
यस वर्ष परीक्षालाई थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने गृहकार्य भइरहेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ ।
परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।







