झापाको बिर्तामोडस्थित निदि आदर्श कलेजका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को बुलिङटार गाउँपालिका-२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा ग१ख ९५४६ नं.को बस आज दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना विद्यार्थी सामान्य घाइते भएका छन् ।
शैक्षिक भ्रमणमा गएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको कलेजका प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका-८ का १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय गगन मेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए ।
दुर्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको छ ।







