हिमाली एजुकेशन फाउण्डेशनले १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका-६ मा सञ्चालनमा रहेको विद्यालयले बुधबार विद्यालयको वार्षिकोत्सव समारोह आयोजना गर्दै बालमैत्री शिक्षादेखि जीवनोपयोगी सीपसम्मको अभ्यासलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको हो ।
विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै कुँवरले पाठ्यपुस्तकमा सीमित शिक्षा भन्दा बाहिर गएर विद्यार्थीको प्रतिभा, आत्मविश्वास र नैतिक मूल्य विकासमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
वार्षिकोत्सव समारोहमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले गायन, नृत्य, कविता, भाषण र वक्तृत्वकला प्रस्तुत गर्दै कक्षाकोठामा सिकेका सीपलाई मञ्चमा उतारेका थिए । विद्यार्थीहरूको प्रस्तुतीले अभिभावक र अतिथिहरूलाई उत्साहित बनाएको थियो ।
सोही अवसरमा शैक्षिक गतिविधिमा वर्षभरि उत्कृष्ट योगदान पु¥याएको भन्दै शिक्षक मलिना शेर्मालाई ‘उत्कृष्ट शिक्षक’ घोषित गर्दै नगदसहित सम्मान गरिएको थियो भने अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने मनिष बुढाथोकीलाई ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गरिएको छ ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतम, अभिभावक संघका अध्यक्ष यामप्रसाद तिम्सिना, नेपाल दशनामी समाज कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, दशनामी युवा समिति झापा संयोजक प्रजित पुरी, विद्यालयका भाइस प्रिन्सिपल ठाकुर राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयकी प्रिन्सिपल शान्ता गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव वराल र विद्यार्थी मनिष बुढाथोकीसहितको टोलीले गरेका थिए।







