झापा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–६ तथा बिर्तामोड–१ मा अतिथि सदन तथा मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने भएको छ ।
विभिन्न स्थानमा मन्दिर, सदन, हस्पिटल, सहकारी, चौतारा, सार्वजनिक स्थानमा पिउने पानी, धार्मिक पुस्तकालय, धर्मशाला, वालआश्रम, बृद्धाश्रम, पाठशाला, पर्यटकीय स्थाल निर्माण गरिसकेको संस्थाले बिर्तामोड र अर्जुनधाराको सिमानामा बृहत निर्माणधिन परियोजना सञ्चालनमा ल्याउन लागेको हो ।
१० कठ्ठा ८ धुर जग्गा मध्ये ८ कठ्ठा ३ धुर परियोजनाको नाममा रजिस्ट्रेशन भई सकेको र २ कठ्ठा ५ धुर थप्न जग्गादाताबाटै प्रकृया अघि बढेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
परियोजना सम्पन्न गर्न २७ देखि ३२ करोड लाग्ने अनुमान गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद झापा उपाध्यक्ष तथा प्ररियोजना निर्माण समितिका सचिव टहलदास ओलीले जानकारी दिनु भयो।
उक्त परियोजना भित्र जिल्लाकै नमूनाका रुपमा प्रणामी मन्दिर, ५ तले अतिथि सदन, ६ हजार बर्गफिटको सभाहल, वाइजुराज नामक ४ तले भवन, सद्गुरु स्तम्भ, कलात्मक प्रवेशद्धार, धार्मिक झाँकीहरु, पार्किङ स्थल साथै आवश्यकता अनुसार भवन निर्माण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य तथा प्ररियोजना महासचिव शारदाप्रसाद थपलियाले बताउनु भयो।
परियोजनालाई सफल बनाउन ९ वटा विभाग बनाई संयोजक तोकि सकिएको र कार्य सम्पन्न गर्न ३ देखि ५ बर्ष लाग्ने अनुमान गरिएको छ । हाल सेवा समितिबाट २१ लाख र सरकारी निकायबाट नदिको बाँधका लागि ३३ लाख प्राप्त भई कार्य गरि सकेको जनाइएको छ ।
परियोजना सम्पन्न गर्न व्यक्ति, संघ, संस्थाहरु र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्राप्त अनुदान तथा सहयोगबाट आर्थिक स्रोत जुटाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
इकाई समिति अध्यक्ष हरिप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका उपाध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन परियोजनाका महासचिव थपलियाले गर्नु भएको थियो ।







