झापाको बिर्तामोड-४ मा अवस्थित ईडन गार्डेन एजुकेसन फाउन्डेसनले खेलकुद गतिविधिसहित ३७ औँ वार्षिक खेल उत्सव सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आर्चायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा अधिकृत लासाङग तामाङगको रहेका थिए ।
प्रतियोगिता अन्तरगत फुटबलतर्फ विद्यालय-कलेजबीचको प्रतिस्पर्धामा कलेज टिमले विजेता बन्दै नगद ११०० रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै भलिबलतर्फ विद्यालय टिमले उत्कृष्ट प्रदर्शन गर्दै मेडल तथा प्रमाणपत्र हात पारेको छ । सदनस्तरीय फुटबलतर्फ हरियो सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो भने भलिबल प्रतियोगितामा छात्रतर्फ पहेंलो सदन विजयी भएको छ ।
त्यसैगरी छात्रा भलिबलमा निलो सदन प्रथम भयो भने अभिभावक तर्फको हट पोटेटो प्रतियोगितामा बिनिता पाठकले विजेता बन्दै नगद ६०० पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।
शिक्षक कमल अधिकारीले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका को-अर्डिनेटर गीताराम आचार्यले गरेका थिए भने खेलकुद प्रतियोगितको सञ्चालन गोमा मैनाली र साइन बेगमले गरेका थिए ।







