काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ ।
मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाएका थिए ।
बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले २-२ तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान १ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
काठमान्डुका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।







