झापामा जिल्लास्तरिय दोस्रो डोरीतान आउटडोर च्याम्पियनसिप २०८२ आयोजना गरिने भएको छ
हल्दीबारी गाउँपालिका-५ स्थित मोति आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता आगामी मंसीर ११ गते सञ्चालन हुने बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
झापा जिल्ला डोरीतान संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रतियोगितामा तीन विभागीय टोली र १५ पालिकाका टोली सहित १८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता झापा जिल्ला डोरीतान संघ र हल्दीबारी जेसीजको संयुक्त आयोजनामा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश डोरीतान संघ र हल्दीबारी गाउँपालिका संरक्षकको भूमिकामा रहने छन् ।
खेलमार्फत युवालाई सक्रिय, अनुशासित र दक्ष जनशक्ति निर्माणमा योगदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हल्दीबारी जेसीजका महासचिव प्रायुष पौडेलले जानकारी दिए ।
प्रतियोगितामा २०० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ । सहभागी खेलाडीका लागि खाजा तथा खानाको व्यवस्था मिलाइएको छ । प्रतियोगिता सञ्चालनमा करिब ९ लाख ८२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।







