बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले इलामको सूर्योदय नगरपालिका –४ र ५ अन्तर्गत श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टहरुमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ ।
एक्सेल डेभलपमेन्ट वैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताकालागि डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बैंकका सहायक महाप्रवन्धक अशोक क्षेत्रीले स्वागत गर्दै उक्त क्यूआर कोड सेवा सुरु भएसँगै अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सीधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा अन्तुडाँडा सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलव्ध गराइएको क्यूआर कोड हस्तान्तरण गर्दै प्रमुख अतिथि राईले कुनैपनि बैंकको शाखा नरहेको श्रीअन्तुमा एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताकालागि डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेकोमा बैंकको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा एक्सेल डेभलपमेन्ट बैंकले सुरु गरेको क्यूआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पँहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताउनुभयो ।
उहाँले यसका साथै वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बताउनुभयो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आइरहेको बताउँदै नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका –४ का वडाध्यक्ष मधुसुदन लामिछाने, सूर्योदय नगरपालिका –४ का वडाध्यक्ष प्रेमकुमार तामाङ , होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सदस्य एकराज घिमिरे, अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले, समाजसेवी केदार अधिकारीलगायतले एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताकालागि डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेकोमा बैंकको प्रशंसा गर्नुभएको थियो।
उहाँहरुले श्रीअन्तुमा कुनैपनि बैंकको शाखा नरहेकाले बित्तिय कारोबार गर्न त्यहाँका वासिन्दालाई असहज भइरहेकाले एक्सेल डेभलपमेन्ट बैंकको शाखा स्थापना गरिदिन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलसंग आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका ४० वटा होमस्टेका सञ्चालकहरुलाई डिजीटल भुक्तानि माध्यम(क्यूआर कोड) हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंकका असुली विभाग प्रमुख पंकज घिमिरे, आइटी विभाग कर्मचारी टंक भण्डारी, फिक्कल शाखा प्रमुख अनिल ढुंगानालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन एक्सेल डेभलपमेन्ट बैंकका बजार व्यवस्थापन प्रमुख सुमन लामिछानेले गर्नुभएको थियो ।







