एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आर्मीका लागि खेलको १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । ३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३-० मा पुर्याइन् ।
८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को अवस्थामा पुर्याइन् । त्यसपछि ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५-० बनाइन् । इन्ज्युरी समयमा पुन: विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६-० को सहज जित दिलाइन् ।
खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।
योसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।







