वेस्ट इन्डिजबीचको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सकेको थियो ।
वेस्ट इन्डिजका नवीन बिदाईसीले २२, फेबियन एलेन र अमिर जांगुले समान १९ रन बनाए । नेपालका कुशल भुर्तेलले दुई तथा दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान एक विकेट लिएका थिए ।
त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ३८, कुशल मल्लले ३० र गुलशनकुमार झाले २२ रन बनाए । यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेलेको हो । वेस्ट इन्डिज दुई पटकको टी-२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।







