नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २ साउनसम्म कुर्ने भएको छ ।
महासंघको आइतबार बसेको बैठकले २ साउनसम्म ऐन जारी नभए आन्दोलनमा जाने योजना बनाएको शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
‘२ गतेसम्म पर्खिन्छौं । सोही दिन नै पत्रकार सम्मेलन गर्छौं । शिक्षक महासंघसँग विगतमा भएको सहमति सरकारले लत्याउँदै गएको छ । शिक्षक आन्दोलनको मर्म भावना समेट्न सरकार तयार देखिएको छैन’ ले भनिन्, ‘१५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा भएन । शिक्षा समितिको बैठक पनि अनिश्चित भएको छ । फेरि आन्दोलनको विकल्प देखिएन ।’
सरकार र शिक्षक महासंघबीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर समय सीमा सकिएको पनि १५ दिन भयो । तर विधेयक समितिमै अड्किएको छ । सरकारले महासंघको मुद्दालाई बेवास्ता गरेको निष्कर्ष महासंघले निकालेको छ ।







