मेरो भोइस युनिभर्सबाट उदाउँदै गरेका झापा बुद्धशान्तिका प्रशान्त पोखरेल एक अदभूत गायन कला भएका प्रतिभा हुन् । उनी अहिले मेरो भोइस युनिभर्स सिजन-२ को प्रब्बल दाबेदारको रूपमा देखा परेका छन् ।
उनी युवराज पोखरेल र आमा टिका पोखरेलको कोखबाट जन्मिएका तीन छोराछोरी मध्ये कान्छा सन्तान हुन् । उनलाई हेर्दा लाग्छ उनी गाउन कै लागि जन्मेका हुन् । करिब चार वर्षको उमेरमा उनका बुबाले हारमोनियम बजाएर गाउँदै गरेको देख्दा म पनि हारमोनियम बजाउँछु, मलाई पनि सिकाइदिनु भन्थे । बुबा संगीत सिक्न संगीत कक्षा जाँदा म पनि संगीत सिक्ने भनेर झगडा गर्थे । उनले संगीतको प्रथम गुरुको रूपमा आफ्नै बुबालाई पाए पनि औपचारिक शिक्षा भने संगीत गुरू ध्रुव पाठकसँग लिन पुगे । करिब १ वर्षको अध्ययन पछि विविध कारणले उनको त्यतिबेलाको शिक्षा रोकियो तर उनलाई संगीतले सधैँ तानिरह्यो ।
उनी गाउँघरमा हुने भजन किर्तनमा सधैँ जान्थे र उनले गाएको सुनेर सबै गाउँबासीहरू खुसी हुन्थे । उनी सबैबाट आशिवर्वाद पाउँथे भने कसैले वक्सिसको रूपमा केही रुपैयाँ दिन्थे । केटाकेटीको मन न हो ! २/४ रुपैयाँ पाउँदा उनी धेरै खुसी हुन्थे । केही रुपैयाँको चक्लेट खान्थे र बाँकी आमालाई राखिदिनु मैले गाएर कमाएको पैसा भनेर राख्न दिन्थे । केही समय पछि उनले फेरि म संगीत सिक्छ भनेर जिद्धि गर्न थाले र बुधबारेस्थित आरोह संगीतालयमा गुरु हरि उप्रेतीसँग संगीतको शिक्षा लिना पुगे । उनले त्यहाँ गुरुसँग करिब दुई वर्ष साधना गरेका थिए ।
उनी विद्यालयस्तरीय प्रतियोगितामा सधैँ प्रथम हुने गर्दथे । प्याब्सनले आयोजना गर्ने प्रतियोगितामा कान्तिपुर विद्या सदनको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै बुद्ध आदर्श माविमा अध्ययन गर्दा पनि उनले थुप्रै प्रतियोगिता जित्न सफल भए । त्यसपछि सन् २०१९ को समयमा कोभिड १९ को कारणले संगीत कक्षा पनि बन्द भए र उनको औपचारिक सांगीतिक यात्रा केही समयको लागि फेरि बन्द भयो । संगीत प्रतिको गहिरो मोह र थप सिक्ने चाहनाले संगीतका प्रख्यात गुरु सरोज वत्स (दाहाल)ले प्रशिक्षण दिने सप्तक संगीत विद्यालयमा तालिम लिने निर्णय गरे । त्यस यता उनका दाजु प्रज्वल पोखरल र उनी आँफै सधैँ रातिको समयमा मोटरसाइकलमा गुरुसँग तालिम लिन बिर्तामोड धाउन थाले । संगीतको भोक उनीहरूमा यसरी जाग्यो कि न पानीले कक्षा जान छेक्यो न जाडोले नै रोक्यो । त्यसपछि उनी अझै मेहेनत र लगनका साथ संगीत साधनामा तल्लिन हुन् थालिसकेका थिए ।
अर्जुनधारा जलेश्वर धामले आयोजना गरेको प्रदेशस्तरीय भजन प्रतियोगिता र नारायण गोपाल स्मृति प्रतिष्ठानले आयोजना गरेको गायन प्रतियोगितामा दुवैमा उनी प्रथम भए । किराँतेश्वर संगीताश्रमले आयोजना गरेको राष्ट्रव्यापी बाल शास्त्रीय गायन प्रतियोगितामा पनि उनी प्रथम भएका थिए । यो त्यस प्रतियोगितको इतिहासमा झापाको बाल कलाकारले सहभागीता जनाएको पहिलो पटक थियो । उनी त्यस प्रतियोगितामा सहभागी मात्र भएनन् प्रथम स्थान ओघट्न समेत सफल भए । उनकै गुरुको परामर्शले आफूले पाएको ज्ञान अरुलाई पनि बाँड्नु पर्छ र आफ्नो गाउँ समाजमा संगीतले संस्कार सिकाउनुपर्छ भन्ने उद्देश्यले दुई दाजुभाइ मिलेर सप्तक संगीत विद्यालय बधबारे शाखा पनि स्थापना गरे र अहिले उनीहरू आफूमा भएको ज्ञान हस्तान्तरण गरिरहेका छन् ।
यसअघि पनि उनले सारेगमप लिटल च्याम्प्समा आफ्नो प्रस्तुति दिएर Chartbuster performance अर्थात १०० प्रतिशत प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा चार जना कोचहरुलाई आफूतिर फुर्काउन सफल भएका थिए । विविध कारणबस ती प्रतियोगिताहरुबाट बाहिरिनुपरे पनि सम्पूर्ण दर्शक श्रोताको मन तथा निर्णायको मन जित्न सफल भएका थिए । अहिले भने उनी मेरो भोइस युनिभर्सको टप ११ पुगीसकेका छन् ।
उनी उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन् । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका प्रशान्त अहिले भोटिङ राउण्डको चरणमा टप ११ बाट थप प्रतिस्पर्धामा जान सबैसँग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले आहिले आम देशवासीमाझ आफुलाई भोट गरेर अगाडि बढाउन अनुरोध गरिरहेका छन् ।
पोखरेल झापा जिल्लाकै एक्लो प्रतिस्पर्धी हुन् । पहिलो चरणको भोटिङ राउण्ड सफलता पूर्वक पार गरेर दोस्रो चरणको प्रतिस्पर्धाका लागि तयारी गर्दै आएका छन् । निर्णायक मण्डलले ५० प्रतिशत र दर्शकवर्गले ५० प्रतिशत भोट गरेको अंक एकमुष्ट जोडिने भएकाले उनको परिवारले प्रशान्तलाई जिताउन भोट गरिदिन आग्रह गरेका छन् ।
उनलाई भोट गर्न के गर्ने ?
प्रशान्तलाई भोट गर्न नेपालभित्र रहनु हुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ 08 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुनेछ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सक्नुहुनेछ।







